खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

 

 
नक्कली प्रचण्डले हँसाए  सक्कलीलाई
              -दिनेश वाग्ले, - कान्तिपुर दैनिक, फागुन १८ गते-

 
काठमाडौं, फागुन १८- राजधानीको कमलादीस्थित नेपाल एकेडेमीको हलमा शुक्रबार साँझ  देखिएको दृश्यलाई सम्भवतः माओवादी अध्यक्ष प्रचण्डले कहिल्यै बिर्सने छैनन् । नागरिक समाजको 'गणतान्त्रिक सांस्कृतिक साँझ हेर्न दर्शकदीर्घाको अघिल्लो लहरमा बसेका नेताको हाउभाउ केही फिट परको स्टेजमा 'अर्का प्रचण्ड' ले दुरुस्तै उतारिरहेका थिए । केही महिनाअगाडि प्रचण्डसँग कान्तिपुर टीभीकी 'पवनकली' ले अन्तर्वार्ता गरेकी थिइन्, जसको प्यारोडी शुक्रबार मनोज गजुरेल र मञ्जु श्रेष्ठले उत्कृष्ट ढंगमा प्रस्तुत गरे । मञ्जुको सुरुवाती उद्घोषणसँगै प्रचण्डलाई बिर्साउने शैलीमा दर्शकमाझबाट मुठ्ठी कसिएको हात हल्लाउँदै र हल्का फुलेका ट्रेडमार्क जुँगा लगाएका स्टेजतिर आउँदा दर्शकको चिच्याहटपूर्ण हाँसोलाई साथ दिएका थिए- माओवादी अध्यक्ष, एमाले महासचिव माधवकुमार नेपाल, माओवादीकै डा. बाबुराम भट्टर्राई र अन्य ।
'तपाइं कस्तो राम्रो, ह्यान्डसम ?' मध्यतिर मञ्जुले पवनकली लवजमा प्रचण्ड मुद्राका  मनोजलाई सोधिन् । हल्का 'हा.. हा' बाट प्रश्नलाई स्वागत गरेपछि दोषरहित लवजमा मनोजले दुवै कम्मर एकैसाथ उचाल्दै हाँसो फ्याँक्दा
विलक्षण प्यारोडी प्रस्तुति स्टेजमा देखियो । वास्तविक माओवादी अध्यक्ष त्यसैगरी दुवै कम्मर उचाल्दै उन्मुक्त हाँसीरहेका थिए ।

'लोभलाग्दो जुंगाका धनी' का रूपमा परिचय गराउ“दै 'प्रचण्ड' लाई उनको 'भुँडी' का बारेमा प्रश्न गरियो । 'जनयुद्ध हाँक्ने विचार र बन्दुकले,' जवाफ आयो- 'भुँडीले होइन ।' हलमा हाँसो छायो । 'पवनकली' ले 'प्रचण्ड' लाई नामको बारेमा प्रश्न गर्न चाहिन् । 'किन त्यस्तो डरलाग्दो नाम राखेको,' उनले भनिन्- 'जसलाई सुन्दा मान्छे सिङ् भएको पो होला कि भन्ने भान हुन्थ्यो ।' राजतन्त्र फ्या“क्न पुष्पलाल, मोहनविक्रम सिंह र मदन भण्डारीले गरेका 'असफल प्रयास' को उल्लेख गर्दै स्टेजका 'प्रचण्ड' ले जवाफ दिए- 'राजतन्त्र फाल्न नसक्नुपछाडि नेताको नाम नरम भएर पो हो कि - नाम सुनेरै निरंकुश राजतन्त्र आफैं ढलोस् भनेर राखेको ।'


हालैका दिनमा अन्य कुराका अलावा सम्भावित सत्ता साझेदारीको तनावमा रहेका प्रचण्ड र अन्य नेताका लागि त्यो मन फुकाएर हा“स्ने मौका थियो । दर्शक स्टेजका प्रचण्डको अभिनयपछि त्यसको प्रतिक्रिया वास्तविक प्रचण्डले कसरी दिइरहेका छन् भन्ने जान्न बारम्बार कुर्सीबाट  उठेर अध्यक्षतिर आँखा डुलाइरहेका थिए । सबैभन्दा बढी हाँसो त्यो 'अन्तिम' प्रश्नले गर्‍यो जो माओवादी नेता र उनकी पत्नीका बारेमा थियो ।

'कतिपय अवस्थामा श्रीमतीलाई लिएर हिड्यो भन्ने आरोप पनि आएको अवस्था छ,' प्रचण्ड ट्रेडमार्कमा जवाफ आयो- 'हामी क्रान्तिकारीले आफ्नै श्रीमती लिएर हिड्ने हो । अर्काकी लिएर हिडे बुर्जुवा  भइहालियो नि ।'  हाँसोले उत्कर्षा लियो । नक्कली प्रचण्ड वास्तविक प्रचण्डकै अगाडिबाट मुठ्ठी कस्सिएको हात उचाल्दै दर्शकबीचमा हराए । 'मचाहि“ कान्तिपुर दैनिकबाट,' निरन्तरको  हाँसोबाट थाकेका जस्ता देखिने माओवादी नेतालाई परिचय दिदै प्रश्न गरियो- 'कार्यक्रम कस्तो लाग्यो ?-'

'कला, विषयवस्तु र प्रस्तुतिका हिसाबले उत्कृष्ट,' अध्यक्ष प्रचण्डले भने- 'जनताका निम्ति काम गर्ने र जिम्मेवारी लिने हिसाबले हेर्दा धेरै जान्न पाइयो ।' आफूबारेको मनोज गजुरेलको प्यारोडी मन परेको उनले बताए । 'आफ्नैबारेमा आत्मसमीक्षा गर्न र अरूको आफूप्रतिको दृष्टिकोण थाहा पाउन निकै महत्वपूर्ण,' उनले भने । त्यसो भन्दा उनी प्यारोडीमै जस्तो काँध र हात हल्लाइरहेका थिए, 'माने' थेगो प्रयोग गरिरहेका थिए । मनोजको सिर्जनशीलताबाट अचम्मित भएको बताउ“दै प्रचण्डले उनको खबरदारीलाई सकारात्मक रूपमा लिएको बताए ।
                                                          -
सबै तस्विरःसागर श्रेष्ठ,स्वसेस

 
जापानबाट फर्किए लगत्तै कोरिया गएँ । नेपाली संपर्क समिति, दक्षिण कोरियाको आयोजनामा भएको सांस्कृतिक कार्यक्रममा म पहिलो पटक त्यहाँ पुगेको थिएँ । वास्तवमा अहिलेसम्म भएका बिदेशयात्राहरु प्रायः असहज हुन्थे । कहिले भोली उड्नु पर्नेमा आजसम्म भिषा मिलेको हुँदैनथ्यो, कैले भरे उड्नुपर्नेमा अहिलेसम्म टिकट मिलेको हँदैनथ्यो । उता पुगेर पनि कहिं के समस्या , कहिं के समस्या । तर कोरियाको यो कार्यक्रमा शुरुवातदेखी नेपाल नफर्किउञ्जेलसम्म हरेक क्षण सफल रहे, ब्यबस्थित रहे, र आत्मीय रहे । यो मेरोमात्र हैन, टिममा रहेका कलाकारसाथीहरु यस कुमार, शम्भू राई, रेजिना,कान्तिपुरका पत्रकार हिमाल नेउपानेको पनि अनुभव हो ।

वास्तवमा" कुनै ब्यक्तिले ब्यबस्थापन गरेका कार्यक्रम भन्दा पनि सामाजिक संस्था, जो समग्र नेपालीको हितकालागी स्थापित भएको छ, त्यसले गरेका कार्यक्रमहरु बढि सफल भएको थुप्रै उदाहरणहरु छन् । नेपाली संर्पक समिति दक्षिण कोरियाका नेपालीहरुको छाता संस्था रहेछ । थुप्रै जातीय तथा क्षेत्रिय संस्थाहरुले पनि आफ्नो छाता संस्थाको कार्यक्रम सफल पार्न गरेको सहयोग वास्तवमा सह्रानीय थियो । भोलीपल्ट हुने सुम्निमा कार्यक्रमका
एक आयोजक सुमनजी दुबै कार्यक्रमा बराबरी खटिरहनु भएको थियो भने निकट भविश्यमा हुने भोजपुरे कार्यक्रममा आयोजकहरु पनि संपर्क समितिको कार्यक्रमा उत्तिकै खटिरहेका थिए । वास्तवमा यो एकता हामी सबैले सिक्नु पर्ने कुरा हो जस्तो लाग्छ ।

संस्थाका अध्यक्ष बम लावती, जो पुर्वी पहाड पाँचथरका हुन्, जसको कुशल अध्यक्षतामा यो संस्था चलेको छ । बिभिन्न बिचार र भिन्न क्षेत्रबाट कोरिया पुगेका नेपालीहरुको यो संगठित अभियान निरन्तरता चलोस् । सेवारो बम लुङ्गा !  तपाईंको कार्यसमितिका सबै होनहार साथीहरुलाई अनि तपाईंलाई !!

केही रमाइला संस्मरण पनि छन् कोरियाका । संस्थाका उपाध्यक्ष इश्वार के.सी. 'प्यूठाने कान्छो' सार्है रमाइला रहेछन् । साथीहरु बिचमा उनि 'लालु'को नामले चिनिदा रहेछन् । 'किन 'लालु' भनेका हुन् त ?' मेरो प्रश्नको जवाफमा महासचिब हसिंला भोजपुरे केशब खड्काले भनेः 'नेपाली नेपाली आपसमा लडे भने छुट्याउन इश्वर नै चाहिन्छ । कसैले नेपालीलाई हेप्यो भने थर्काउन पनि उ नै चाहिन्छ । त्यसैले हामी प्रेमले उसलाई लालु भन्छौं ।'  'प्यूठाने कान्छो' का दुईवटा थेगोहरु मलाई र हिमाल नेउपानेलाई प्रभाव पार्न सफल रहे । 'मान्छे त लाष्टै सोडा रहेछ नि''ड्याङ् खाला जस्तो छ ।'  बदलामा मैले र हिमालले पनि कोरियामा दुईवटा थेगो हिट बनाएर आएकाछौं । पहिलो, गंभीर बिषयमा छलफल भैरहेको बेलामा प्वाक्क भनिदिने- ' आवेशमा नआउनोस् न ।' अनि दोश्रो ठट्यौलो थेगो छ , कसैले धेरै बोल्यो भने प्वाक्क भन्ने-'कति पढेको छस्  ?'  तर, जहाँ पायो त्यही यो चाहीं नभन्नोस् है । ठट्टा नबुझ्नेका फेला पर्नु भो भने खुस्काइदेलान् गेडी !अनि महासचिब केशब खड्काको थेगो म अझै यहाँ प्रयोग गरिरहेको छु- ' आ आस् ..' हाहाहा ।

अन्त्यमा,संस्थामा कोषाध्यक्ष कृष्णमणी सापकोटा, मेरो पुरानो साथी उमेश बस्नेत, खगेन्द्र खत्री, भोजपुरेभाइ भरत नेपाल, पत्रकार भुपेन्द्र खड्का, राप्के लामा, पुरु जोशी, रमेश श्रेष्ठ, उत्तम गुरुङ्, दुर्गाराज गुरुङ्,रक्तिमका कलाकार सचित्र केसी लगायतका साथीहरुसँगका हरेक भेटघाट र कुराकानी कोरियाको रमाइलो संझना भएर दिमागमा बसिरहेकाछन् । खाम्साहमिदा ।
जापानबाट प्रत्यक्ष प्रशारण
यो दोश्रो जापान भ्रमण हो मेरो । यस अघि २००३ मा म त्यहाँ पुगेको थिएँ । यम बराल, श्रीकृष्ण श्रेष्ठ, झरना थापा, कोमल ओली लगायतका कलाकार साथीहरुसँगको करिब १२ दिने यात्राका केही छोटा अनुभव लेख्न चाहान्छु । यसपटक जापानमा धेरै स्मरणयोग्य घटनाहरु रहेकाछन् । ति मध्य पहिलो संझना हो, जापानबाट सञ्चालित नेपाली इन्टरनेट च्यानल एनआइटिभीबाट बिश्वका हजारौं दर्शकहरुले हाम्रो कार्यक्रम प्रतक्षरुपम हेर्न पाए । पोखराका युवा कमल अधिकारी सहितका जापानी र नेपालीमित्रहरुको यो प्रयास बिदेशमा बसिरहेका र नेपालमा रहेका नागरिककालागी सिक्नै पर्ने कुरो हो । त्यसबाहेक पनि मेरो राजा प्रचण्डको प्रश्तुतीमा अर्को घटना पनि स्मरणीय रहेको छ । कार्यक्रममा प्रचण्डको प्रश्तुतीपछि कार्यबाहक राजदुत पारस घिमिरेले आयोजकलाई बाहिर बोलाएर अचम्म मान्दै हैन, क्या हो प्रचण्ड नै हो कि ? दुतावासलाई उहाँ जापान आउने जानकारी नै थिएन त भनेर प्रश्न गरेको कुरो आयोजकका अध्यक्ष शालिकरामजीले मलाइ सुनाएका थिए । जवाफमा म पनि गमक्क परिदिएको थिएँ ।

साथमा रुपङ्गीको रमझम, पासाङ् बिश्वकर्माको रेसम फिरिरिको ओशाके, भवन भट्टजीसँगको सिञ्जुकुमा काराओके, मित्र बेलु थापासँगको कुराकानी...सबै दिमागमा दौडिरहेकाछन् ।

ब्लगको शुरुवात
हास्यप्रेमी बन्धुहरु, डामाडोल डटकमलाई तपाईहरुले दिनुभएको अपार माया र सद्भावकालागी यस्को मातृसंस्था सिस्नुपानी नेपाल तथा डामाडोल समूहका तर्फबाट यहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । डामाडोलका खुराकहरुको आफ्नै स्थान र लोकप्रयता छ । आफ्नो अन्तरकुन्तरको भावनालाई डामाडोलमा जर्बजस्ती थोपर्नु हुन्न भन्ने मैले बुझिरहेको कुरो हो । तर, धरै डामाडोलका शुभचिन्तक मित्रहरुको सुझाव के रह्यो भने तपाईंका दैनिक अनुभव र गैह्र हास्यव्यंग्य बिचारहरुलाई पनि डामाडोलमा कहिं कतै उल्लेख गर्नुपर्यो १ वास्तवमा मैले यो मनमा धेरै पहिलेदेखी सोचिरहेको कुरो थियो तर मलाई हुटहुटी लगाउने साथीहरुले मलाई ढिलै भएपनि सुझाव दिनु भयो । जस्को फलस्वरुप आजदेखी यो स्तम्भमा म आफ्ना हास्यव्यंग्य रचना मार्फत संप्रेशण गर्न नसकेका अनुभव, बिचार, घटना र भावनालाई प्रकाशन गर्न शुरुवात गर्दैछु ।


भदौ १० गते,शनिबार,  पोखरा
घटना अलि अगाडीको हो । गाईजात्रा देखाउने क्रममा पोखरा गएका थियौं । राजा ज्ञानेन्द्र र प्रचण्डको क्यारिकेचरलाई असंख्य श्रोता दर्शकले काठमाण्डौमा नै मन पराईदिनु भएको थियो, मिडियाले पनि राम्रै सहयोग गरेका कारण पोखरामा पनि त्यतिकै लोकप्रय भयो हाम्रो कार्यक्रम । तर, रमाइलो के भयो भने, म राजाको पोशाक तथा हाउभाउकासाथ दर्शकदिर्घाबाट स्टेजमा पस्ने एउटा सिक्वेन्स थियो, जस्ाकालागी म हलका बाहिरपटि आएर तयारी गर्दै थिएँ, एकजना प्रहरी आएर मलाई र मेरा एडिसी बनेका मेरैभान्जा यादबलाई स्यालूट मारी हाले । शुरुमा त उनी हामीसँग जिस्किएका होलान् भन्ने लागेको थियो तर नजिकै रहेका एकजना आयोजकले उहाँ त कलाकार पो हो त भन्ने जानकारी दिएपछि ति सिपाही साथी रातोपिरो हुँदै साईड लागेको घटना पोखरा यात्राको रमाईलो र अविस्मरणीय घटना रहेको छ ।

हो, ति सिंपाहीको कर्तब्य परायणता प्रति संमान गर्दछु, र अग्रम जानकारीका अभावमा उनले साँच्चै नै राजा नै आएछन् भनेर उनि झुक्किए, उनको यो कमजोरीमा हामीले हाँस्ना पनि सुहाउँदैन तर पनि आफ्नो कलकारिताले सफलता पाउन सकेकोमा भने भित्र भित्रै खुशी गद्गद् हुँदै स्टेजतिर हानिएँ, डुप्लिकेट एडिसीको साथमा । सरी है पुलिस भाइ !!

२०६३ भाद्र १३  गते,बागलुङ
यो पनि अलि अगाडीकै घटना हो । पोखरा कार्यक्रम सकेर हामी बागलुङ्का लागी हिड्यौं । पर्वतको कुस्मा नपुग्दै अली वरै, एकिन ठाउँको नाम त याद भएन त्यहाँ हाम्रो रिर्जब बस रोकियो । चिया खान रोकिएको होला भनेर हामीपनि उत्रियौं । तर त्यहाँ चिया खान नभएर आर्मी ड्रेसलगाएका केही युवाहरु गाडी रोक्दै चन्दा माग्दै रहेछन् । मैले बुझिहालें यिनिहरु माओवादी कमरेडहरु हुन् । यसो कमरेडहरुसँग गफ गर्नु पर्यो भनेर म एउटा टहरामा बसेर रसिद काटिरहेका कमरेड छेउ गएर बोल्न खोजेः के को पैसा उठाउँदै हुनुहुन्छ ? मेरो प्रश्न भुईमा खस्न नपाउदै उनि यसरी जंगिए कि मानौं मैले अक्षम्य प्रश्न सोधें । उनले ठाडै उत्तर दिएः केको भन्नु नि, देख्नु भएन, राष्ट्रिय संमेलनकालागी ।
खै छिटो गर्नुस्, यहाँ भिंड नगर्नोस् । उनको बोलाईको पारा यस्ता थियो कि मैले यदी थप बोलें भनें उनले मलाई हानि हाल्नेछन् । शरीर हो, हाने भने त दुखिहाल्छ भन्ने ठानेर १०० रुपिया चन्दा दिएर हामी गाडीतिर लाग्यौं मन मनै यस्तो सोच्दै कि माओवादीले तल्ला कमिटिका कमरेडहरुलाई सर्बसाधारणहरुसँग मिठो बोलोर मन जितेर चन्दा लिने पथचाहीं सिकाएका रहेनछन् कि क्या हो ?

साझ बागलुङ् पुगियो । त्यहाँको सबैभन्दा राम्रो होटेल भनेर हामीलाई होटल पिस प्यालेसमा बसाईयो । गफगाफ गर्दागर्दै रातको १२ बजेमात्र सुतिएछ । भोली बिहानचाहीं अबेरसम्म सुत्नुपर्ला भनेर सुतेको मान्छे बिहान पाँचबजे नै होटलको गेटमा होहल्लाको आवाजले म ब्युझिंएँ । कौसीमा आएर गेटतिर आँखा लगाएँ, कार्यक्रम आयोजकका पविन खड्का गेटमा उपस्थित ५,७ जनाको समुहसँग बादबिबाद गर्दैथिए । गेट मेरो कोठाभन्दा अलि पर भएकोले मैले उनिहरुबिचको संबाद त सुन्न सकिंन तर पनि उनिहरुको मुडबाट के थाहा हुन्थ्यो भने त्यो समुह होटलभित्र आउन खोज्दैथियो तर पविन उनिहरुलाई फिर्ता पठाउन चाहान्थे । करिव ५ मिनेटको गलफत्तीपछि त्यो समुह आफ्नो बाटो लाग्यो र पविन हाम्रो कोठातिर । मैले सोधें: के भएको हो पविन ? पविनले भन्योः हाम्रो पार्टीको अध्यक्ष कमरेड आउनु भएको छ रे, भेट्न आएको भन्थे । शुरुमा त मैले केही बुझ्न सकिन, तर पछि झसंग भएँ, तपाईं प्रचण्ड बनेको कुरो उनिहरुलाई कसैले ठट्टामा लौ प्रचण्ड पिस प्यालेसमा आउनु भएको छ भनिदिएछन्, त्यही भएर उनिहरु हो न हो साँच्चीकै प्रचण्ड भनेर भेट्न आएको रहेछन् । मैले प्रचण्ड हैन,प्रचण्डको नक्कल गर्ने मनोज गजुरेलचाहीं आएको हो भनेपछि बल्ल उनिहरु निलो हुदै फर्किए ।
मैले मनमनै सोचें: धन्यवाद कान्तिपुर, धन्यवाद हिमाल र धन्यबाद संपूर्ण मिडिया !

 

                                  रमाइलो यात्रा दुबइको
                                     
 (६-१५ सेप्टेम्बरसम्म)
दोषी को ?

यस पटकको युएईको यात्रा बिभिन्न कारणले स्मरणीय रह्यो । पहिलो कुरो त ७ तारिखको अबुधाबीको कार्यक्रमका लागी ५ तारिखमात्रै जहाजको टिकट कन्र्फम भयो त्यही पनि पाउनलाई कति धौ धौ परेको हैन । अघिल्लैदिन बेलुका मैले बद्री,सत्यकला, कोमल ओली लगायतका कलाकार साथीहरुलाई एयरपोर्टमा पर्खिन भनेर टिकट कुर्न बसें । तर साँझ ७ बजेसम्म पनि टिकट नमिलेकाले उहाँहरु त्यतिकै घर फर्किनु भएको थियो । यसै घटनाले यो यात्रा त्यति सहज छैन भन्ने मलाई लागी सकेको थियो । जे होस् ६ तारिख बिहान ६ बजे सबैजना साथीहरु एयरपोर्ट पुग्यौं र बोर्डिङ् जाँच गरेर इमिग्रेसन तिर लाग्यौं । एकजना इन्सपेक्टरमित्रले तपाईहरुको यो बोर्डिङ्ले त कतारसम्म मात्रै पो हुन्छ त, त्यहाँबाट दुबइका लागी खै भनेपछि पो झसँग भइयो । हतार हतार कतार एयरवेजको अफिसमा आएर बुझ्दा ट्राभल एजेन्सीले त्यहींको मात्रै टिकट कन्र्फम गरेरको रहेछ । बल्ल तल्ल लोडिङ् गरिसकेको हाम्रो ब्यागेज पुनः निकाल्न लगाएर दुबइसम्मकै बोर्डिङ् बनाएर जाँदा जहाज त झण्डै झण्डै उड्न पो लागेको रहेछ । जो होस्, जसो तसो दोहा पुगियो ।

बाठो लड्छ ७ बल्ड्याङ !
दोहामा करिब साढेचार घन्टाको ट्रान्जिट रहेछ । सबैजना कलाकारहरु एक डेढघन्टा रमाइलो नै मान्यौं । एउटा ट्राञ्जिट बिल्डिङमा एकघन्टा कटाउनु त्यही पनि चुलबुले कलकारका लागी, यो पनि ठूलो सफलताको कुरा हो । अब सबैलाई
भोकले सताउन थालिसकेको थियो । ड्युटी पि|mमा गएर खान्कीको भाउ सोध्यो कि सातो गइहाल्ने । त्यसको नेपालीमा कन्भर्ट गर्यो भने त झन हर्ट एट्याक होला जस्तो हुने । ज्यानभन्दा ठूलो धन हैन भन्ने ठानेर अमृकि स्टायलमा आफु आफु किनेर केही खाने सल्लाह गर्यौ तर दुख पाइस् मंगले आफ्नै ढंगले भनेजस्तो न कसैसँग कतारी रियाल रहेछ न त डलर नै । सबैकुरो आयोजकले नै बेहोरी हाल्छन् भन्ने गलत सोचाईको कारण हामी नराम्ररी भोकको आक्रमणमा परिसकेका थियौं ।

त्यतिकैमा एकजना नेपाली भाइ आएर सबैलाई नमस्ते गरे । उनि हाम्रा दर्शक रहेछन् र दुबइमा काम गर्न दोश्रो पटक जाँदै रहेछन् । जे होला होला, यिनैसँग मुख छोड्नु पर्यो भनेर मैले उनिसँग केही स्थानीय रुपैंया दिन अनुरोध गर्दै मैले भनेः हामी दुबइ एयरपोर्टमा हाम्रो आयोजकसँग मागेर दिइहाल्छौं । तर भाइले भनेः मसँग एकसय धिराम छ तर मलाई टेलिफोन कार्ड किन्नु छ, दिन सक्दिंन । उनको शब्द कार्ड भएपनि पैसा दिएर फिर्ता दिएनन् भने के गर्ने भन्ने भाव प्रष्ट ढल्कन्थ्यो । उनि एकहदसम्म सहि थिए, किन भने ५,६ सय धिराम तलब खाने उनको पैसा यदी हामीले दिएनौं भने उनलाई पक्कैपनि समस्या पर्ने थियो । उनको बाध्यता बुझेर मैले भनेः मसँग नेपाली २००० रुप्ौंया छ, त्यो तपाईंलाई दिन्छु, हामीलाई सय धिराम दिनोस् । उनले सहर्ष स्वीकार गरे । हामीले सोही सय धिरामबाट दूइ बोतल पानी र एक एकवटा पाउरोटी टोकर राष्ट्रिय कलाकारको ज्यान बचाउँन सफल भयौं ।

अबुधावीको आपत् !
हाम्रो पहिलो शो अबुधाबीमा थियो । स्थानीय प्रचलन अनुसार  त्यहाँ अलि ढिलै कार्यक्रम हुन गर्दछ । साँझ ८ बजेसम्म पनि दर्शकको त्यति उपस्थिति नदेखेपछि मैले आयोजक मध्यका रोहन प्रसाईंजीलाई सोधें:  हैन, कार्यक्रम गोलखाडी जान्छ कि क्या हो ? उनले भनेः हिजैमात्रै बिदाको सेड्यूल चेञ्ज भएर समस्या परेको हो । राती ९ बजे कार्यक्रम शूरु भयो । अपेक्षा गरेअनुरुपका दर्शकसंख्या नभएपनि जे जति थिए, प्रतिबद्ध, कलाप्रेमी र संगीत प्रेमी दर्शकहरु थिए । उनिहरुलाई कार्यक्रम देखाएर हामी राती २ बजे डेढघन्टा लामो यात्रा पार गरेर बास बस्न दुबई आईपुग्यौं ।

हिरोइनसँगको संगत्
स्वभावैले कलाकारहरु खुलस्त हुन्छन् तर कोही कोही मै हुँ भनेर टिमका साथीहरुसँग पनि नबोल्ने, खाने कुरामा पनि किचकिच गर्ने, आयोजकलाई ब्रस र कट्टुपनि किन्न लगाउनेहरु पनि मैले देखेको छु । तर यो टिममा सबैसाथीहरु मिलनसार, समस्या बुझ्ने र सामुहिक समाधान खोज्नेखालका थियौं । बिशेषत सिनेमाका नायीकाहरुसँग मेरो कम घुलमिल हुने गर्दथ्यो । तर यस पटक नायीका रेखा थापासँग करिब ७ दिन सहकार्य गरियो । मेरै अगाडीमात्रै हो वा हाम्रो ब्यंग्यको डरले हो वा वास्तवमै उनको स्वभाव त्यस्तै भएर हो कुन्नी उनी निकै समझदार र मिलनसार रहेको अनुभव छ मेरो । उनका छोटा लुगाको बारेमा ब्यंग्यगर्दा होस् वा नायीकाहरुमा रहेको बौद्धिक खडेरीको खोइरो खन्दा होस् उनि गल्ती स्वीकारेको भावमा खितित्त खाँसिदिन्थिन् । कला र रुपकी धनी नायीका रेखालाई मैले उनकै अगाडी र्दिएको सुझाव भने यस्तो थियोः अब तिम्रो कलाकारितमा दुइवटा चिजको जरुरत देखेको छु । पहिलो कुरो समाजप्रति प्रत्यक्ष रुपले केही जिम्मेवार काम र अर्को कुरा बिचार । उनले भनिन: दाई, म त्यही कुरो चाहान्छु, तर कसैले पत्याउँदैनन् चुलबुली भनेर तपाईंले मलाई सुझाव, सल्लाह र सहयोग गर्नुपर्छ है । मैले सहमतीमा भनें: ह्वाई नट, स्योर ।

दमदार दिपेश
अर्को कुरो, पप गायक भन्नासाथ मलाई के भ्रम थियो भने यिनिहरु उनकागीतहरु जस्तै हावा खालका हून्छन् । दीपेश किशोर भट्टराईसँग कहिलेकाहीं शोहरुमा भेट हुने गर्दथ्यो । उनि मेरा केवल हाय हेलो साथीमात्र थिए । तर यो यात्राले मलाई नयाँ कुरोको जानकानी दियो कि कलाकारिता एउटा कुरो हो अनि तिनको जिवनको यर्थाथता अर्को कुरो । दीपेशकिशोर भट्टराई रमाइलामा मात्रै रहेनछन्, तार्किक, जिम्मेवार, अनि समझदार नागरिकपनि रहेछन जस्तोकि मेरो मित्र धिरज राई पहिलेदखी नै छन् ।

मिसन बकरा
कार्यक्रम सकिएको साँझ मलाई ठट्टा गर्ने मुड आयो । सोचें: साथीहरुसँग ठट्टा गर्नपर्यो । बदि्रजी निदाईसकेका थिए । धिरज र दिपेशको कोठामा गएर भनें:  आयोजकले त पैसा नदिने भो नि । मेरो कुरो सुन्नासाथ धिरज राई हत्तपत्त केही नबोली सिरक ओढेर घोप्टो परेर सुतिहाले । म दिपेशको रियाक्सन हेर्दै थिएँ । मैले कल्पना गरें, दिपेशले भन्नेछन्:  शो कन्ट्याक्ट तपाईंले गरेको हो, तपाईले नै उपलब्ध गराउनु पर्छ । तर मेरो सोचाईंको ठिक उल्टो दिपेशले भनेः कहाँ जान्छ र दाई, जहाँ गएपनि कुनै न कुनैदिन त भेटिइहालिन्छ नि, टेन्सन नलिनोस् । म केही थप्न खोज्दै थिएँ, दिपेशले थपेः हाम्रो पैसा खाएर त्यो धनी हुने पनि हैन, यती पैसा नपाएर हामी गरिब हुनेपनि हैन, छोड्दिनोस् । यति भनेर उनि रसियन जुस् तन्काउन थाले । यी बिनदास गायकलाई भुट्न सकिदैन भन्ठाने र मैले सबै यर्थाथता बताई दिए । हाम्रो पारिश्रमीक सबै प्राप्त भईसकेको थियो जुन मैले सगोलमा लिइसकेको थिएँ ।

दिपेशले भनेःल एकछिन रमाइलो गरौं । रेखा थापालाई पनि पैसा पाएन भनेर एकछिन चाटौं । हामी दुबैजना रेखाको रुममा गयौं । रेखाकी रुम पार्टनर कोमल ओली अहिलेसम्म आइपुगेकी थिइनन् । दिपेशले कुरो शुरु गरेः रेखा, एउटा टेन्सन आइलाग्यो । पैसा दिदैन जस्तो छ । आयोजक डोरी बोकेर खजुरको जंगलतिर हिड्यो रे । रुपकी रानी रेखा सुन्नासाथ कालो निलो भईन् । उनले भनिन्:  यो कसरी हुन्छ दाई । त्यही भएर मैले सबै पैसा शो शुरु हुनु अगाडी नै लिनुपर्छ भनेकी । अब के गर्ने भन्नुस् त ? उनि झण्डै तनावमा आइसकेकी थिइन् । उनलाई चाट्ने काम झण्डै आधा घण्टाजति चल्यो । मेरो र उनको झण्डै झण्डै झगडा नै होला जस्तो भयो । म भन्ने पैसा छोडौं, नेपाल र्फकने शुरसार कसौं, उनिभन्ने पैसा कसरी छोड्ने ? जसरी भएपनि लिनुपर्छ । करिब ४५ मिनेटको चटाईपछि दिपेशको अस्वाभिविक कुरा गराईको जरो समाउँदै रेखाले भनिन्:  ह्या, केही पनि हैन, दिपेश कुनै सिरियस नै छैन । मनोजदाई पनि चाहिने भन्दा बढि गंभीर देखिनुहुन्छ । तपाईंहरुले मलाई चाटेको मात्र हो ।

वास्तवमा रेखा मान्छेको अनुहार पढ्न सक्ने क्षमताकि रहिछन् । जति प्रयास गरेपनि ४५ मिनेटभन्दा बढी उनलाई चाट्न सकेनौं र सबैकुरा खुलस्त बताई दिएपछि सबैजना गलल हास्यौं । रेखाले भनिन्:  अब रिचालाई पनि बकरा बनाऔं । सबैको सहमती अनुसार रिचालाई तल बोलाईयो, तेश्रो बकराको रुपमा । पुनः दिपेशजील कुरो शुरु गरेः रिचा, हामी ठगियौं, आयोजक त भाग्यो रे । दिपेशको कुरो सकिनासाथ ब्ल्याक ब्युटी रिचा घिमिरे डार्क ब्युटी बन्दै चिच्याईनः के र ? मम्मी .......अब के गर्ने होला । अस्ती नै सबै पैसा लिनु पर्दैन त ??  रेखाले थपिन्: यो सबै मनोज दाईले गर्दा भएको हो । मलाई अरु कुरो थाहा छैन, तपाईले दिनुपर्छ । रिचाले ठट्टालाई साच्ची ठान्दै थपिन्:  त्यही त । म पनि जंगिए जस्तो गरें:  तिमीहरुलो मसँग एगिरमेन्ट गरेको हो र ? यस्ता धम्की अरुलाई दिने, मलाई हैन । एवंरितले करिब १ घण्टा रिचालाई चाट्ने काम भयो । अन्तिममा मैले भनें:  पासपोर्ट होटलवालाले राखेको छ, वील नतिरि दिदैन रे । यो कुराले रिचालाई नराम्रो शक परेछ क्यार, दुइऔंलाले आखा छोप्दै आँशु पुच्न थालिन् ।

स्थिति बिग्रने देखेर दिपेशजीले कुरो खोले । आफु नराम्रोसँग बकरा बनेकोमा लाजले काली नीली हुँदै रिचा दिपेश, रेखा, म र मेरो साथी गोकुललाई झ्याम्की झ्याम् पिट्न थालिन् । उनिपनि के कम ? अब सत्यकला राईलाई पनि मुर्गा बनाउनु पर्छ है, सबैजना रेडी भन्दै सत्यकलालाई फोन गरेर बोलाईन् । तुरुन्तै सत्यकलाको प्रबेश भयो । रेखाले भनिन्: सत्यकलादिदी, आयोजक त डोरी बोकेर खजुरको रुखतिर लागे रे । पैसा नदिने भयो नि । रेखाको कुरा नसकिदै सत्यकला जंगिइन्:  जहाँ भएपनि खोजेर ल्याउनु पर्छ । एम्बेसी जानुपर्छ, पुलिस केश दिनुपर्छ । उनिपनि पनि झण्डै झण्डै रुने स्थितिमा पुगीसकेकी थिइन् । आधा घन्टाको चटाई पछि उनी झन ठूलो स्वरमा जंगिदै भनिन्: त्यो जीत राईको कोठामा जाऔं न । पैसा त लिनै पर्छ जे गरेर भएपनि ।

त्यती नै बेला हाम्रा आयोजक सोझा, नरम र गाउले पाराका जीत राई जस्ले करिब आधा घण्टा अगाडी हाम्रो सबै पारिश्रमीक दिएर बिदा भएका थिए, जस्को बारेमा हामी यतिञ्जेल ठट्टा गरिरहेका थियौं । श्रीमती सहित आईपुगेः हैन हौ, सुत्नु भएको छैन भन्दै । अब परेन त बित्यास् ? सत्यकला त भेट्नासाथ पिटिहाल्ने मुडमा थिइन् । साँच्चै नै त्यसो गरिन् भने त बरबाद होला भनेर हामी सबै गलल हास्यौं र सत्यकलालाई सबै कुरा बताईर् दियौं । सोझा आयोजक जीत राईलाई ठट्टाको बिषय बनाएकोमा हामीसबैले मनमनै उनीसँग माफी पनि माग्यौं ।

फुपुको सराद्धे
आयोजकहरु हाम्रो रिर्टन टिकट बनाउनतिर लाग्नु भयो । तर दुर्भाग्य, नेपालबाट नै त्यो टिकट ओपन भनिएको
रहेछ । अब दशैंको मुखमा ओपन टिकट ? कहाबाट पाउनु सिट ?? दशैंमा घर र्फकनेहरुको घुईंचो त्यसमाथी हाम्रो तुरुन्तै र्फकनु पर्ने जरुरी । चारतिर प्रयास गरियो, नेपालमा परराष्ट्रमा सोर्स लगाईयो आरए को टिकटका लाग्ाी, संभव भएन । नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीका नीजि सचिब खेमराजजीसँग कुरा गरियो ...तर अँह कुनै पनि हालतमा टिकट पाउने संभावना छैन । आयोजकहरुको ओठ सुकिसक्यो, कलाकारको तालु सुकिसक्यो, कतै कहिं फर्किने संभावना छैन । अब केवल १५,२० दिन पर्खिनु बाहेक अरु बिकल्प छैन भन्ने टुंगोमा पुगियो ।

कलाकारको निरन्तर दबाब र आयोजकको प्रयासपछि हाम्रो पहिलेको टिकटलाई त्यतिकै छोडेर आयोजकले हामी मध्य पाँचजनालाई एयर इण्डियाको जहाजमा बिजनेस क्लासको टिकट काटेर पठाउने काम भयो, जस्को कारण उनिहरुको इन्टिमेट बजेट बढ्न गई घाटामा जाने स्थिति भयो । अर्को कुरा, सेड्यूलभन्दा ५ दिन ज्यादा होटलमा राख्नुपर्ने कारणले पनि आयोजकको करिब डेढलाख खर्च ज्यादा भएको देखिन्छ । तर उनिहरुले हाम्रो संझौता अनुसारको संपूर्ण रकम बिना झण्झट हामीलाई उपलब्ध गराएको अवस्थामा हामीले पनि किन यस्तो भयो र उप्रान्त यस्तो हुन नदिन क कसले के के गर्ने भन्ने बारेमा अनुभव आदाना प्रदान गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।

वास्तवमा समस्या टिकटबाट शूर भएको हो । पहिलो त आयोजकहरुको हुस्सुपन यसको प्रमुख कारण हो किनभने २ महिना पहिलेदेखीको कार्यक्रमको तयारीकोक्रममा टिकटका बारेमा लाष्ट आवरमा आएर टेन्सन लिनुको साटो पहिल्यै बुकिङ गरेको भए त भै हाल्थ्यो नि । तर त्यो भन्दा ठुलो अपराध -गल्ती ?) कहानिर भएको छ भने जुन एजेन्सील हाम्रो टिकट इस्यू गरेको छ, त्यसले जम्मा आठजनाको कतार एयरवेजबाट काठमाण्डौ अबुधाबीको राउण्ड फेयर नेपाली रुपैंया रु.चारलाख छयहत्तर हजार नगद लिएको छ जुन झण्डै झण्डै बिजनेस क्लासको भन्दापनि ज्यादा हो । फेरी आयोजकसँग बिजनेस क्लासको टिकट भनेर हामीलाई चाहीं इकोनोमी क्लासमा पठाएर अर्को ठूलो अपराध गरेको हामीले मानेका छौं । यस बिषयमा केही प्रश्नहरु बारम्बार आउँछन्, जस्तोः
-के काठमाण्डौ दुबइ राउण्ड टिकटको कतार एयरवेजमा प्रतिब्यक्ति रु.५९,५०० लाग्ने हो ?
-एयरलाइन्सले दिएभन्दा बढी कमिसन यात्रीबाट हसुर्न मिल्छ ?
-बिजनेस क्लासको पैसा लिएर इकोनोमिक क्लासमा उडाउनेलाई कतार एयरवेजले कुनै कारवाही गर्छ कि गर्दैन ?
-पैसाकालागी यसरी टिकट नै कन्र्फम नगरी उडाउनेहरुलाई कानुनले कसरी दण्ड गर्ला ?
-तपाईंलाई पो कुनै आइडिया छ कि ?

असोज १ २०६३,काठमाण्डौ ।
स्याङ्जालीहरुले आयोजना गरेको यस सम्मान तथा बिशेष साँस्कृतिक कार्यक्रममा मैले यसपटक आफ्नो २० मिनेट लामो प्रश्तुत गरें । स्याङ्जालीको कार्यक्रमा म झापाली भनेर साथीहरु ठट्टा गर्दै भन्थेः हाहाहाहा !!! त्यहाँ जाँदाचाही बुढी औंला लुकाएर जानु है, स्टेजमा कार्यक्रम गर्दागर्दै यता घरजग्गा आफ्नो नाममा पारिदेलान् । थाहा छैन, यो भनाई कसले र कुन स्वार्थका लागी शुरुवात गर्यो, तर कुनै एउटा काण्डका कारण कोही पनि सही वा गलत भनेर ब्याख्या गर्नु अनुचित हो भन्ने लाग्दछ । यदी स्याङ् को पछाडी जाली शब्द आएका कारण त्यसो भनिएको हो भने झापड हानिहाल्ने भएकाले झापाली भनिएको हो भन्नेकुरो स्वीकार गर्नुपर्यो । अथवा लामाजुङ्गा भएकाजति सबै लमजुङे र पोखरीमा बस्ने सबै पोखरेली बन्नु पर्ने हो । त्यसैले मलाई लाग्छ, यी सब कथा हुन् । कथाको पछाडी कुनै न कुनै ब्यथा त होलान् तर अरुलाई अप्ठेरो पर्नेगरी यसरी ब्यथा पार्नुचाही हुन्न । वास्तवमा स्याङ्जाली उक्त कार्यक्रमको आयोजना सामाजिक बिकासकालागी सहयोगी हातहरु भन्ने संस्थाले गरेको रहेछ । उक्त कार्यक्रममा बिभिन्न स्याङ्जाली प्रतिभाको संमानकासाथै पुरस्कार वितरणको कार्यक्रमपनि गरेको थियो । स्याङ्जालीहरुबाट सिक्ने कुरा धेरै रहेछन् ।

मेरो संपर्क थलो

 

मनोज गजुरेल
पोष्टबक्स नं- 7050, Kathmandu,Nepal
 gagurelmanoj@yahoo.com
    mgajurel@gmail.com
    अनामनगर,
काठमाण्डौ

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com