|
|
►
Bishesh |
By: Laxman Gamnage |
वाक् स्वतन्त्रताको पक्षमाप्रजातान्त्रिक प्रणालीलाई पचाइवर लोकतान्त्रिक गणतन्त्रको अभ्यास पनि निकै अघि बढिसकेको हाम्रो देशमा फेर यसरी वाक् स्वतन्त्रताका लागि आवाज उठाउनुपर्ला भन्ने मैले सोचेकै थिइनँ । त्यो पनि सर्वसाधारण जनताका लागि हो र ! आजीवन जनताको वाक् स्वतन्त्रताका लागि लडेका महान् नेताहरूको पक्षमा ।
यता केही समयदेखि वाक् स्वतन्त्रताको निर्वाध उपयोग गररिहेका नेताहरूमाथि राजनीतिक दलहरूले प्रतिबन्ध लगाउने चेष्टा गररिहेका छन् । एउटा दलले अर्को दलको नेतालाई र एउटा नेताले आफ्नै दलको अर्को नेतालाई बढ्ता नबोल्न चेतावनी दिँदै उनीहरूको वाक् स्वतन्त्रतामाथि धावा बोलिरहेका छन् ।
कांग्रेस त वाक् स्वन्त्रताभन्दा धेरै अघि बढेर 'भ्वाक्क' स्वतन्त्रतामा उक्लिसकेको छ । भर्खरै घटेको कुटाकुट काण्डबाट पनि यो कुरा प्रमाणित भएको छ । त्यहाँ पनि बेलाबेला गिरजिा वा सुजाताविरुद्ध झीनो स्वरमा बोल्ने अधिकार कटौतीका कुरा निस्कने गर्छन् । वाक् स्वतन्त्रताभन्दा माथि उठेर वाक् अराजकताको भरपूर उपयोग गररिहेका एमालेका नेताहरूलाई पार्टीको केन्द्रीय समितिले बढी नबोल्न निर्देशन दिए पनि धन्न कार्यान्वयन भएन । कमरेडहरू झलनाथ, खड्ग ओली, वामदेवहरू जेनतेन आफ्नो बोल्ने अधिकारको उपयोग गर्दैछन् ।
वाक् स्वतन्त्रताकै लागि पन्ध्रौँ वर्ष जेल बसेका नेताहरूकै वाक् स्वतन्त्रता हनन गर्न खोज्ने त्यस्तो निरंकुश निर्देशन मान्नु पनि हुँदैन । तर, ठूलो खतरा कहाँनिर देखियो भने 'नागरकि सर्वोच्चता' स्थापना गर्न प्रधानमन्त्रीको कुर्सीसमेत लत्याउने नेता प्रचण्ड स्वयं वाक् स्वतन्त्रताको अधिकार हननको सिकार हुनुभएको छ । तीव्रगतिमा बढिरहेको उहाँको लोकपि्रयता सहन नसकेर उहाँलाई आफ्नै पार्टीको पोलिटब्युरोले बोल्नमा प्रतिबन्ध लगाएको छ । यो राम्रो संकेत होइन । यसबाट सम्पूर्ण नेपाली जनतालाई र खासगरी हामी लेखक, पत्रकार, स्तम्भकार तथा व्यंग्यकारहरूलाई सीधा असर पुर्याएको छ । यो हामीमाथि समेत लगाइएको प्रतिबन्ध हो ।
हामीलाई बोल्ने नेता चाहिन्छ । नबोल्ने नेतामा जीवन नै कहाँ हुन्छ र ! हामी खरो स्वभावका दह्रो बोल्ने नेताहरूको पक्षमा छौँ । त्यसमा पनि कुरा फेरीफेरी बोल्ने, गर्न नसकिने कुरा ठूलठूला स्वरमा बोल्ने, आफ्ना विरोधी र प्रतिद्वन्द्वी सहकर्मीलाई पनि खसी खुइल्याएजस्तो खुइल्याएर गाली गर्न सक्ने, धाराप्रवाह सराप्न सक्ने, निरन्तर बकबकाइरहने नेताहरू नै हाम्रा प्रेरणाका स्रोत हुन् । त्यसैले म सम्पूर्ण शीर्ष नेतागणलाई निर्धक्कसँग आफ्नो बोल्न पाउने मौलिक हकको उपयोग गर्न अनुरोध गर्दै उहाँहरूको अधिकारको पक्षमा जोडदार रूपमा आवाज उठाउन लेखक, पत्रकार, स्तम्भकार, व्यंग्यकारलगायत आमजनतालाई आह्वान गर्दछु ।
नेताहरूले उपयोग गर्ने वाक् स्वतन्त्रताको अधिकारले हामी नेपाली जनता अति नै लाभान्वित भएका छौँ । नेताहरूले बोल्न पाउने अधिकारको उपयोग नगरेको भए हामी नेपाली जनताले कसरी थाहा पाउँथ्यौँ नेताहरूको सक्कली रूप कस्तो हुन्छ ! हाम्रा कुनकुन नेताहरू विदेशीका दलाल हुन्, कुनकुन कसकसका कठपुतली हुन्, कुन नेता शिखण्डी हो र कुन पाखण्डी हो, हामीलाई कसरी थाहा हुन्थ्यो ! नेताहरूले बोल्ने अधिकारको भरपूर उपयोग नगरेका भए कुनकुन नेता समलिंगी हुन्, कुनकुन नपुंसक छन्, कुन नेता रमिोटबाट चलेको छ र कुनकुन नेताहरू भ्रष्टाचारका नाइके हुन् भन्ने दिव्यज्ञान हामी लाटागाँडा प्रजालाई कसले दिन्थ्यो ?
हामीलाई कसले बताइदिन्थ्यो, कुनकुन नेताहरूलाई कुनकुन देशका राजदूतले प्रधानमन्त्री बनाए, कसकसलाई आश्वासन मात्रै दिए । हामीलाई यी सम्पूर्ण जानकारी र सूचनाहरू हाम्रै नेताहरूबाट प्राप्त भएका हुन् । तब न हामी लेखक, पत्रकार भनाउँदाहरूले पनि जनतालाई ती कुराहरू प्रसार गरेर सुसूचित गर्न सक्यौँ । वास्तवमा नेताहरूले मन खोलेर बोलेको परणिामस्वरूप जनताको सूचनाको हक पूर्णरूपमा स्थापित भएको छ हाम्रो देशमा ।
बोल्नुका फाइदा अरू पनि छन् । बोल्दा मनमा गुम्सेका रसि, डाह र ईष्र्याहरू बाहिर निस्कन्छन् । मन चंगा हुन्छ । यसबाट हाम्रा नेताहरू शान्त हुन्छन् । नेताहरू नै त हुन् नि अशान्तिका जड । उनीहरू शान्त भएपछि देशमा स्वतः शान्ति सुव्यवस्था कायम हुन्छ । त्यसैले रेडियोमा, टेलिभिजनमा, आमसभामा, उद्घाटनमा, गोष्ठीमा, संसद्मा, बैठकमा, भान्सामा, चर्पीमा, भट्टीमा, सपनामा, विपनामा, हर ठाउँमा, हर अवस्थामा नेताहरूलाई इच्छा लागुन्जेल र मुखमा आएसम्मका सबै कुरा बोल्न दिने व्यवस्था गर्नुपर्छ । बोल्दाबोल्दै मूच्र्छा परून् । पानी छ्यापीछ्यापी बोल्न लगाउनुपर्छ । प्रत्येक नेतालाई प्रत्येक नेताको आन्द्राभुँडी खोल्न लगाउनुपर्छ । त्यसपछि बल्ल संविधान बन्छ र शान्ति प्रक्रिया पनि 'तार्किक निष्कर्ष'मा पुग्छ भन्ने हामीले बुझ्नुपर्छ ।
अन्तिम र महत्त्वपूर्ण कुरो यो पनि छ । नेताहरूले बोल्न छाडे भने हामी लेखक, पत्रकार, स्तम्भकार, व्यंग्यकार वा कलाकारहरूचाहिँ भोकै मर्ने ? के लेख्ने ? के छाप्ने ? पत्रपत्रिकाका पानाहरू केले भर्ने ? हास्य शृंखलाहरूमा के देखाएर जनतालाई हँसाउने ? यस्ता अनेक समस्याहरूबाट मुक्तिका लागि एउटै उपाय हो, नेताहरूको निर्वाध वाक् स्वतन्त्रताको प्रत्याभूति ।
नेताहरू नबोले यो देशको गति रोकिनेछ । नागरकि चेतना समाप्त हुनेछ । जनता लतारनिेछन् । स्रष्टाहरूले सिर्जना गर्न छाड्नेछन् । सभ्यता समाप्त हुनेछ । त्यसैले तीन करोड नेपाली जनताको वाक् स्वतन्त्रताको पक्षमा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका हाम्रा महान् नेताहरूको वाक् स्वतन्त्रताको पक्षमा अब हामी स्रष्टाहरू अघि बढौँ । उहाँहरूको अधिकारलाई कुण्ठित गर्न खोज्ने राजनीतिक दलका पोलिटब्युरोहरूविरुद्ध एक होऔँ । मनपरी बोल्न पाउने नेताहरूको जन्मसिद्ध अधिकारलाई संविधानमै ग्यारेन्टी गराऔँ । यी मागहरू पूरा गराउनका लागि हामी स्रष्टाहरू पनि छुट्टै संघीय राज्यको माग राखेर अघि बढ्नुपर्ने भयो भने त्यो पनि गर्न तयार छौँ । सबै राजनीतिक दलहरू, केन्द्रीय समितिहरू र पोलिटब्युरोहरूलाई चेतना भया !
Author in brief |
|
|
|
|
|
|
|
|
|
|